डा उपेन्द्र देबकोटा एमाले-माओवादी केन्द्रबीच एकता भएको देख्न चाहने : प्रचन्ड

0
81

मंगलबार दिउसो भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय (हेडक्वार्टर) को विस्तारित बैठकको एजेण्डा थियो, एमाले-माओवादी केन्द्रबीचको एकता। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताबारे भइरहेका प्रगतिबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरे।

एमाले-माओवादी केन्द्रबीच एकता जरुरी छ भन्ने विषयमा एकाएक बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटालाई सम्झन पुगे, जसलाई भर्खरै बाँसबारीस्थित न्यूरो अस्पतालमा भेटेर प्रचण्ड फर्किएका थिए।

‘उहाँ अहिले ‘डेथबेड’ मृत्युशैयामा हुनुहुन्छ, मैले उहाँलाई भर्खरै भेटेर आएँ’ प्रचण्डले बैठकमा सुनाए, ‘उहाँले एमाले-माओवादी केन्द्रबीच एकता भएको देख्न चाहन्छु भन्नुभएको छ। उहाँको चाहना हामीले पुरा गर्नुपर्छ।’

यति भन्दै गर्दा प्रचण्ड निकै भावुक देखिए। त्यसपछि उनले डा देबकोटाले गत निर्वाचनमा वामगठबन्धनलाई सहयोग गरेको स्मरण गर्दै भने, ‘एकता चाहने भएकैले गत चुनावमा गोर्खाका पालुङटार लगायतका स्थानमा वामगठबन्धनको चुनाव प्रचारमा पनि जानुभएको थियो।’

‘सरकारमा असझदारी’
रिपोर्टिङ गर्नेक्रममा प्रचण्डले एमाले–माओवादी केन्द्रबीचको एकताको पृष्ठभूमिबारे बताएका थिए। सरकारमा सञ्चालनका विषयमा प्रधानमन्त्री ओलीका कार्यशैलीले केही अप्ठेरो अवस्था सिर्जना गरेको जानकारी उनले पार्टी नेताहरुलाई गराए।

‘सचिवहरुको सरुवा गरिँदा हामीसँग परामर्श नगरिएकै हो, त्यसले उहाँको कार्यशैलीप्रति आशंका सिर्जना भयो’ प्रचण्डले भने, त्यस्तो भएपछि पार्टी एकतापछि के होला भन्ने आशंका सिर्जना हुने त भइहाल्यो।’

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग र अर्थ मन्त्रालय अन्तर्गतको राजश्व अनुसन्धान विभाग लगायतका निकायसमेत प्रधानमन्त्री कार्यालय अन्तर्गत लगिएकाले ती मन्त्रालयको कामकार्वाहीमा असर पुगेको उनले बताए।

उनले थपे, ‘पटक पटकको भेटमा हामीले उहाँसँग यी विषयमा कुराकानी गरेका छौं, उहाँले गरेका निर्णयहरु सच्याउन भनेका छौं।’

‘तरपनि पार्टी एकता’
सरकार सञ्चालनमा ओलीका क्रियाकलापका कारण केही समस्या उत्पन्न भएपनि पार्टी एकता चाहिँ हुने दावी उनले गरे। त्यसैक्रममा उनले डा देबकोटा आफूसँगको भेटमा एकताबारे व्यक्त गरेको चाहना सुनाएका थिए।

‘एमाले–माओवादी केन्द्रबीचको एकतालाई सम्मानजनक, समानता र न्यायोचित आधारमा अघि बढाउने विषयमा ओलीजीपनि सहमत हुनुहुन्छ’ उनले भने, ‘भोलि ओलीजी र मबीच वार्ता हुन्छ। त्यसपछि धेरै कुरा टुङ्गिन्छ।’

एमालेसँग एकता हुने नै भएकाले पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी लगायतका निकायहरुलाई तन्दुरुस्त राख्नपनि उनले निर्देशन दिए। यो ब्रिफिङपछि उनले बैठक अन्त्य भएको घोषणापनि गरे।

 प्रकाशित १९ बैशाख २०७५, बुधबार | 2018-05-02 21:14:52

LEAVE A REPLY