नेइमार किन आलोचित हुन्छन् ?

0
79

मस्को । ब्राजिललाई जिताउन सोमबारको खेलमा नेइमारको प्रदर्शन उत्कृष्ट रह्यो । उनले दोस्रो हाफको ५१ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा पुर्याउने सम्भावना बढाए । यति मात्रै होइन दोस्रो गोल गर्न पनि सहज बनाइदिए ।

खेल जिताए पनि उनको आलोचना पनि अहिले तिव्र भइरहेको छ । अनावश्यक व्यवहारका कारण खेलको कलालाई उत्कृष्ट हुन नदिएको भन्दै उनको आलोचना भइरहेको हो । उनको देश ब्राजिलका पत्रिकाहरुले नै उनको पैदर्शन राम्रो रहे पनि अनावश्यक व्यवहार गरेको भन्दै लेखेका छन् । ब्राजिलको पत्रिका ग्लोबोले त ‘नेइमार ह्याज चार्मड ब्राजिल, बट एनोइड होल वर्ल्ड’ भन्ने शीर्षकमा समाचार नै छापेको छ ।

अर्जेन्टिनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो घर फर्किएपछि यो विश्वकपमा बाँकी रहेका एक मात्र सुपर स्टार खेलाडी हुन् नेइमार । विश्वका महँगा खेलाडी र उनको राम्रो प्रदर्शन, टिमको जितका बाबजुद नेइमार फुटबल प्रेमीमा आफ्नो छापा पार्न असफल देखिएका छन् । त्यसको कारण उनी अनावश्यक ठाउँमा बढी प्रतिक्रिया देखाइरहेका छन् ।

सोमबार रातिको खेल सकिन मात्रै २० मिनेट बाँकी थियो । त्यो बेलासम्म नेइमारले गोल गरिसकेका थिए । मेक्सिकोका फुल–ब्याक मिगुएल लायुनले बल नियन्त्रणमा लिने क्रममा नेइमारको गोलीगाँठोमा छोए, तर त्यो बेस्सरी थिएन ।

उनले निकै सावधानी अपनाउँदा पनि छोइएको थियो । तर नेइमारले त्यसलाई ठूलो बनाए । मैदानमा लडे, बेस्सरी कराए । एक छिनपछि उठे । यसले नेइमारको अभिनय गर्ने बानी यो खेलमा पनि देखियो । नेइमारको यो बानीले सबैलाई अचम्ममा पार्‍यो, उनको टिमका, मेक्सिकन खेलाडी, रेफ्री र उनका सहयोगी, फोर्थ हफिसियल । सबै उनको वरिपरी आए । किनकी उनी नेइमार थिए । उनले मात्रै यस्तो गर्न सक्ने एक जर्मन पत्रकारले बताएका छन् ।

२६ वर्षका नेइमार खेलको म्यान अफ दि म्याच भए । खेल पछि नेइमार अन्तर्वाताका लागि तयार थिए । पत्रकारले त्यो घटनाका बारेमा सोधे । तर ब्राजिलका प्रशिक्षक टिटेले ओभर टेक गरेर भने, ‘उनीहरुले नेइमारलाई कुचेका थिए, मैले त्यो स्क्रिनमा देखेको थिएँ ।’

त्यसपछि नेइमारले थपे, ‘हेर्नुस्, त्यो मलाई अण्डरमाइन गर्ने प्रयास थियो । मलाई आलोचनाको त्यति ख्याल छैन, न प्रशंसाको । किनकी यसले व्यवहारलाई प्रभावित पार्न सक्छ । गएका दुई खेलमा मैले प्रेससँग बोलिन किनकी म चाहन्नथेँ, मलाई मात्रै खेल्नु छ, मेरा साथी खेलाडीलाई सहयोग गर्नुछ । टिमलाई सहयोग गर्नुछ ।’

तर मेक्सिकोका प्रशिक्षक आन कार्लोस ओसोरिओले भने नेइमारको व्यवहार राम्रो उदाहरण नरहेको बताएका छन् । उनले भने, ‘यो फुटबलका लागि लाजको कुरा हो, हामीले एक खेलाडीका कारण धेरै समय खेर फालेका छौँ ।’ यो विश्वकपमा नेइमार धेरै रोएको, लडेको र सानो कुरालाई ठूलो देखाउने गरी अभिनय गरेको आरोप लागेको छ । उनले यो विश्वकपमा अहिलेसम्म २३ पटक पोस्ट प्रहार गरेका छन् र त्यसमा १२ वटा सही निशानामा देखिएका छन् ।

उनले १६ पटक गोल गर्ने राम्रो अवसर सिर्जना गरेका छन् । यस्तै उनले ड्रिबल्स ४० पटक गरिसकेका छन् भने उनीमाथि २३ फउल भएका छन् । नेइमारले यो विश्वकपमा दुई गोल गरेका छन् । अहिलेसम्म उनले विश्वकपमा गरेको गोलको संख्या ६ पुगेको छ । यसका लागि उनले ३८ पटक प्रयास गरे । मेस्सीलाई ६ गोल गर्न ६७ तथा रोनाल्डोलाई ७४ पटक प्रयास गर्नु गरेको थियो । एजेन्सी

LEAVE A REPLY