हामिले हतियार चलाउन छोडेका मात्र हौं, बिर्सेका होइनौं । -डि. एस. महता

0
350

अध्यक्ष
माओवादी कम्युनिष्ट केन्द्र, नेपाल
प्रचण्ड नेतृत्वको तत्कालिन ने.क.पा.( माओवादी) ले लिएको शान्ती र संविधानको कार्यदिशाप्रती घोर असहमती प्रकट गर्दै २०६२ साल फाल्गुन २ गते दाङको हापुरेबाट पार्टी विद्रोह गरि माओवादी कम्युनिष्ट केन्द्र, नेपालको नेतृत्व गरिरहेका डि. एस. महता अहिले सरकारसँग वार्ताको प्रक्रियामा हुनुहुन्छ। आधार इलाका संरक्षण, पुन: निर्माण र जनयुद्धको निरन्तरताको एजेण्डा सहित सशस्त्र संघर्षलाई जारी राखेको माओवादी कम्युनिष्ट केन्द्र नेपाल विगत २०६९ साल देखि वार्ता अनि संघर्षमा निरन्तर रहेको छ। मुलत: २०६९ देखि सशस्त्र संघर्षका एजेन्डाहरुलाई सरकारसँगको वार्ता मार्फत तार्किक निष्कर्षमा पुर्‍याएर मुलधारको राजनितिमा कृयाशिल हुन प्रयासरत रहेको माओवादी कम्युनिष्ट केन्द्र नेपालका अध्यक्ष डि. एस. महता सँग पार्टीको सशस्त्र संघर्ष, वार्ता प्रकृया र आगामी रणनिती कार्यनिती बारे हाम्रा प्रतिनिधिले गरेको कुराकानिको संम्पादित अंश:-
१. महता जी, नेपाल सरकारले उच्च्स्तरिय अधिकार सम्पन्न वार्ता टोलि गठन गरेको थियो । पुर्व मन्त्री तथा नेकपाका वर्तमान संघिय सांसद सोम प्रसाद पाण्डे नेतृत्वको वार्ताटोलिसँग यहाँहरुको पार्टीको वार्ता चलिरहेको छ भन्ने छ । कहाँ पुग्यो वार्ता प्रकृया? र कुन दिशातर्फ अग्रसर हुँदैछ?? के वार्ता सफल हुन्छ त ?

२०६२ मा चुनवाङ एजेन्डा प्रती असहमती जनाउँदै सशस्त्र संघर्षलाई निरन्तरता दिंदै आएका थियौं । तर विगत ६ वर्षदेखी हामिले संघर्षको स्वरुपलाई परिवर्तन गर्दै सरकारसँग वार्ता अनि संघर्षलाई निरन्तरता दिंदै आएका छौं । अझ यसो भनौं विगत ६ वर्षदेखी वार्ता सम्वाद अनि दवावमुलक संघर्ष मार्फत सरकारलाई जनताका एजेन्डा स्थापित गराउन हामी प्रयासरत छौं। यद्यपि विभिन्न चरणमा गरिएका वार्ताहरुले ठोस दिशानिर्देश गर्न सकेन जुन दु:खद कुरा हो। मतलव मुलुक र आम उत्पिडनमा परेका नेपाली वर्ग समुदायहरुका जीवनसित जोडिएका हाम्रो पार्टीले उठाएका मागहरुलाई सरकारले सम्बोधन गर्न सकेन यद्यपि अहिलेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार र सो ले गठन गरेको वार्ता टोलि हाम्रा एजेन्डाहरुप्रती एकदमै लचिलो र सकारात्मक भएर प्रस्तुत भएको महसुस हामिले गरेका छौं। जहाँ सम्म लाग्छ अहिलेको वार्ता प्रक्रियाले सकारात्मक दिन्छ भन्नेमा हामी आशावादी छौं।

२. भनेपछी अहिलेको सरकारले तपाईंहरुका मागहरु सम्बोधन गर्ला त ? के के छन तपाईँहरुका मुख्य मागहरु ?
पहिलो कुरा के हो भने हामी एउटा सच्चा कमुनिष्ट पार्टी हुनुको नाताले आम उत्पिडनमा परेका नेपाली वर्ग, क्षेत्र, जाती, लिंग र समुदायहरुका आधारभुत समस्याहरु नै हाम्रा मागभित्र पर्छन। जुन कुरा कम्युनिष्ट हौं भन्नेहरुको सरकार आउँदा पनि ज्युं का त्युँ छन । दोश्रो कुरा यहि आधारभुत उत्पिडित समुदायको जगमा टेकेर सिंहदरबार प्रवेश गर्न सफल वर्तमान ने. क. पा. को झन्डै दुई तिहाईको बलियो सरकार छ भन्ने छ यदि समस्या समाधान गर्न चाह्यो भने अहिलेको सरकारलाई कसैले रोक्न सक्दैन। आम उत्पिडनमा परेका जनताका समस्याहरुलाई यओ सरकारले सरासर समाधन गर्नुपर्छ भन्ने हाम्रो माग हो। राष्ट्रियता, जनतन्त्र र जनजिविका सम्वन्धी २३ बुँदे मागहरु हामिले सरकार समक्ष प्रस्तुत गरेका छौं। सरकारले पनि यसपटक सकारात्मक चासोका साथ हेरिरहेको हामिले पाएका छौं। हामिले ठोस रुपमा नै भनेका छौं कि आनाकानी अब हामिलाई स्विकार्य छैन।

३. जुनसुकै अझ त्यसमा पनि कम्युनिष्ट पार्टीहरुले गोलमटोल तरिकाले राष्ट्रियता, जनतन्त्र र जनजिविका भनेर सनातन मागहरु मात्र राख्छन र कालान्तरमा ती मागहरुलाई सरकार र सत्तामा पुग्ने भर्‍याङ बनाउँछन तपाईँहरुको पनि सरकार र सत्तामा पुग्ने दाउ मात्रै होइन भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?
ठिक भन्नुभयो, अहिलेका सबैजसो दलहरुले जनताका मागहरुलाई बार्गेनिङ टुल्सका रुपमा प्रयोग गरे जुन कुरा आम जनताले बुझ्नुपर्छ भन्ने हो। रह्यो कुरा हाम्रो पार्टीको, कुरा के भने हामिले मुख्यत: राष्ट्रियताको रक्षा, न्याय र समानताको मागहरुलाई अगाडि सारेका छौं। पैसा नभएको कारणले खान नपाउने, लगाउन नपाउने, पढ्न नपाउने, उपचार गर्न नपाउने र रोजगार समेत हुन नपाउने स्थितिको अन्त्य हुनुपर्‍यो। पैसा नभएकै कारण समाजमा बाँचिरहेका लाखौं लाख नेपाली दाजुभाई दिदिबहिनिहरुका दिनानुदिनका चीत्कार नै हाम्रो पार्टीका मुख्य एजेन्डा हुन। अस्पतालमा उपचार गरेको पैसा तिर्न नसकेर अस्पताल कै छतबाट हामफालेर आत्महत्या गर्नुपर्ने, मान्छे नै बन्धकी बस्नुपर्ने, स्कुल कलेजको फि तिर्न नसकेर कक्षाकोठा बाट नै अपहेलित भएर निष्कासित हुनुपर्ने, इन्जिनियर, मेडिकल, पाइलट लगायतका प्राविधिक शिक्षा आम सर्बसाधारणको पहुँचमा नहुने हरेक नेपालिले एक छाक खाना र एकसरो नाना नपाउने स्थितिको अन्त्य नहुन्जेलसम्म हाम्रो पार्टी सरकार र सत्तामा जाने त के सत्ता र सरकारको “स” पनि उच्चारण गर्नेछैन। जनताले हेर्दै जानेछन, हामी हाम्रो वाचामा प्रतिबद्ध रहनेछौं।
४. भनेपछी अहिले तपाईहरुको पार्टी र सरकारविचको वार्ताको कुरा कहाँ अड्केको छ त ?
हामिले वार्षिक २ लाख ४० हजारभन्दा आय भएका र चल अचल सम्पत्ती २० लाख भन्दा कम भएका परिवारलाई गरिव घोषणा गरियोस भनेका छौं। गरिव घोषणा गरेपछी तिनिहरुलाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगार लगायतको आधरभुत आवश्यकताको दायित्व राज्यले लिनुपर्‍यो भनेका छौं। राज्यका हरेक अंग र तहमा वर्गिय आधारमा ५०% आरक्षणको ग्यारेन्टी गर्नुपर्‍यो भनेका छौं। लिपुलेक, कालापानी, सुस्ता लगायत भारतद्वारा मिचिएको हजारौं हेक्टर सिमा बिबादक्क विषयमा सरकारको ठोस धारणा र कदम माग गरिरहेका छौं। राष्ट्रवादको जगमा टेकेर दुई तिहाइ नजिक जनप्रतिनिधि पाएको भनिएको वर्तमान सरकारले राष्ट्रियताका यी गम्भीर सवालमा ठोस जवाफ दिनै पर्ने हुन्छ। यो वा त्यो वहानामा उम्कने छुट यसलाई कदापी हुन्न। र हामिसँगको छलफलमा सरकार गम्भीर अनि उत्तरदायी देखिएको हो कि भन्ने महशुस हामिलाई भैरहेको छ । तत्कालको वार्ता यिनै विषयहरुमा केही लम्बिरहेको छ।
५. तपाईहरुसँग अझै पनि हातहतियारहरु छन भन्ने अनुमान चाहिँ गरिन्छ यदि वार्ता सफल भएन भने फेरि पुरानै सशस्त्र संघर्षलाई निरन्तरता दिनुहुन्छ ?
पहिलो कुरा हामिसँग हतियार छन कि छैनन त्यो मुख्य विषय नै होइन हामिले जनअधिकार स्थापनाको लागि सचेत ढङ्गबाट वैचारिक मार्ग निर्देशमा हतियार चलायौं कि चलाएनौ भन्ने कुरा चाहिँ मुख्य हो। अहिले सशस्त्र संघर्षको विषयभन्दा पनि हामिले जनताका आधारभुत एजेन्डा कसरी स्थापित गर्न सकिन्छ भन्ने पट्टि आफ्नो ध्यान केन्द्रीकृत गरेका छौं। हाम्रो दिमागले आवश्यकता महशुश गर्‍यो भने हाम्रा लागि हतियारको ब्यवस्थापन गर्नु कुनै आइतबार कुर्न पर्दैन। हिजो जनयुद्ध शुरु गर्दा कति हतियार थिए र? त्यसैले खास कुरा मान्छेको दिमागमा अब राज्यसँग लड्न मलाई हतियार चाहियो भन्ने मानसिकताको विकास हुन दिनुभएन र यसमा राज्य सचेत हुनपर्‍यो तर अहिले त्यतातिर नजाऔं। वार्ता र संवादबाट नै सबै जनताका एजेन्डा स्थापित होउन भन्नेमा हाम्रो मुख्य जोड छ। रह्यो कुरा वार्ता विफल भए के गर्ने भन्ने कुरा, त्यो के भने हामी जनताका समस्या समाधान नहुन्जेल निरन्तर संघर्ष मै हुन्छौं। राज्यलाई खवरदारी गरिनै रहन्छौं। हामी कम्युनिष्ट हौं हामिले तत्काल हतियार नचलाएका मात्र हौं, हतियार चलाउनै बिर्सेका होइनौं। यो कुरा राज्यले हेक्का राख्नुपर्छ। हिजो जनयुद्धका केही संचालक पनि सरकारको नेतृत्वदायी तहमा हुनाले उहाँहरुले यो कुरा अझ राम्रोसँग बुझ्नुभएको छ भन्नेमा हामी विश्वस्त छौं। यद्यपि वार्ता सफल नभए कुन मोडेलको संघर्षमा जाने त्यो त्यतिखेरै निर्धारण हुने कुरा हो। हामी शान्तिपुर्ण संघर्षलाई नै पहिलो प्राथमिकतामा राख्दछौं।
६. अर्को प्रसंगमा जाऔं, त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादीले शान्ती प्रकृयाको बाटो अपनाउँदा विरोध गर्नुभयो, अहिले फेरि स्वयं त्यही बाटो पछ्याईरहनु भएको छ। विगतमा तपाइँको पार्टीले विद्रोह गर्नु गल्ती थियो भन्ने पुष्टि भएन र ?
त्यसो चाहिँ अलिक होइन, विद्रोह अनन्तकालसम्म गर्ने भन्ने कुरा पनि हुन्न। विद्रोहको अन्त्य कि त विजय वा वार्ता र संवाद कै माध्यमबाट हुने हो। एउटा कालखण्डमा हतियारको आवश्यकता पर्‍यो त्यतिखेरको परिस्थितिमा जनयुद्धको निरन्तरताको लागि इमान्दार कोसिस गरिएकै हो। चुनवाङ निर्णय गलत हो भनेर हामिले बिद्रोह गरेकै हौं अन्तत: हिजो हाम्रो आवाज सहि थियो भन्नेमा त हिजो जनयुद्ध हाक्ने कति धेरै नेतृत्वकर्ताहरु नै सअहमत भैसक्नुभएको छ नि। तर फेरि पनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिहरु फेरिंदै गए जनताको सोचमा परिवर्तन भयो। हामी जनतामा आधारित पार्टी हुनुको नाताले जनताका सल्लाह सुझाव अनि मनोविज्ञान बमोजिम नै सशस्त्र संघर्ष स्थगन गरेका हौं। एक हदसम्म हाम्रो पार्टीले गरेको युद्धस्तरको खबरदारीले तत्कालिन संविधानसभाले केही मात्र भए पनि हाम्रा एजेन्डामा आधारित भएर जनअधिकार सुरक्षित गर्‍यो, यसमा हामिलाई गर्व छ। तर प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा(माओवादी) ले प्राप्त आधार इलाका, जनसत्ता, जनअदालत अनि आफ्नै विशाल जनमुक्ती सेना र रणनैतिक प्रत्याक्रमणको दोश्रो चरण पार गरेको जनयुद्धलाई परित्याग गरेर एकाएक बाटो मोड्नु गलत थियो, बाहिरी चलखेल थियो वा नेतृत्वको आत्मसमर्पणवादी सोचको उपज थियो भन्ने हो। त्यसको समिक्षा इतिहाँसले नै गर्ला।
७. अर्को प्रसंग, तपाईहरु जस्तै मोहन वैद्य, विप्लब, गोपाल किराँती लगायत माओवादी जनयुद्धको मुलधारको बाइ प्रोडक्ट थुप्रै पार्टीहरु छन र एजेण्डाहरु पनि लगभग उस्ता उस्तै सुनिन्छन, यी सबै पार्टीहरु एक भएर अघि बढ्न के कारणले रोकिरहेको छ त ?
सहि प्रसंग उठान गर्नुभयो। हो यहि विषयमा हामिले जोड गर्न खोजेको हो। यसको लागि हिजो देखिका विषयहरुको गम्भीर समिक्षा गर्नुपर्ने जरुरी देखिन्छ। हिजो जनयुद्धको बाटो रोकिदै गर्दा, जनसेनाहरु, जनसत्ता अनि जनअदालतहरु विघटन तिर जाने एजेन्डा चुनवाङबाट पारित हुँदैगर्दा हामीले स्पष्ट रुपमा देखेका थियौं कि अब सबै विघटनको दिशातिर जाँदै छ र त्यसको खवरदारी गर्दै संरक्षण गर्नु हाम्रो दायित्व हो र यो गर्नैपर्छ तर कतिपय जिम्मेवार नेता कमरेडहरुले बढुवा पाउनुभयो, कतिपयका कारवाही फुकुवा भए र उहाँहरुले त्यसैका आधारमा विघटनको एजेन्डाको ल्याप्चे ठोकिदिनुभयो। समिक्षाको बिन्दु यहिबाट शुरु हुन्छ र क्रान्तिको आवश्यकताले सम्पुर्ण क्रान्तिकारी शक्तिहरुलाई फेरि एकै ठाउँमा जुटाउनेछ।

८. अब कस्तो खालको रणनिती हुनेछ तपाईहरुको पार्टीको ?
हामी चाहन्छौं सबै जनताका एजेन्डाहरु शान्तिपुर्ण रुपमा नै स्थापित होउन। जनजनको आवाज, दु:ख, पीडा अनि दैनन्दिनका समस्याहरुलाई हामिले आफ्नो पार्टीको माग बनाएका छौं। हाम्रा यी एजेन्डाहरु सरकारले सम्बोधन गरोस। मैले अघि उल्लेख गरिसकें वार्ता सकारात्मक दिशा उन्मुख छ। वार्ताको सफलता वा विफलताले हाम्रा आगामी कार्यक्रमहरु निर्धारित हुनेछन। यो संविधानप्रती हाम्रो आलोचनात्मक समर्थन रहनेछ। हामी आम जनता कै विचमा हुनेछौं जनताले जे अवश्यकता महशुश गर्छन हामी त्यही गर्छौं र मार्क्सवादबाट दिक्षित हामिहरु गरिखाने वर्गको एजेन्डा मृत्युपर्यन्त अंगालिरहनेछौं।

LEAVE A REPLY