खेरेसका कविताहरुमाथि चन्द्रको लयात्मक टिप्पणी

0
145
  • चन्द्र रानाहँछा

शब्दहरुसँग खेल्ने विशेष कला जोसँग हुन्छ, उ, असल कवि हुन्छ । र, उसले खेलाउने शब्दहरुको सिष्ट सम्मिलनबाट विशष्टि कविता बन्छ ।

…लाग्थ्यो,
त्यो सानो कोठा

भित्तामा झुण्डिएको पुरानो तस्वीर

दुःखको कोट झुण्ड्याउने चोके मात्र छाडेँ
तर कोठाको सानो झ्यालबाट देखिने
विशाल संसार छाडेर आएछु ।

(एक निर्वासित कविको वकपत्र)

कविको विशिष्टता भनेको कविताको सानो झ्यालबाट पाठकहरुलाई ज्ञान, विचार र दृष्टिकोणको विशाल आकाश देखाउनु हो । प्रस्तुत कवितांश कवि देवेन्द्र खेरेसकृत दोस्रो कविताकृति ‘कोलम्बस यात्रा’मा लिपिबद्ध छ । यस कवितांशमा कविले आफू निर्वासित हुँदा आफ्नो घरको कोठा, कोठाभित्रको चोके र कोठाको झ्यालमात्र छोड्नुपरेको नलेखेर जब उनले सानो झ्यालबाट बाहिर देखिने विशाल संसार छोडी आउनुपरेको ‘विस्मत’ लेखे, यहीँ ‘विस्मत’ हो उनको कविताको शिर । आममानिसले याद नगरेका सत्यहरुलाई विवेकसम्मत पत्ता लगाउँछ कविले र नै उ, सर्वत्र पुज्य हुन्छ । कविता लेख्ने कार्य भनेको कुनै गम्भीर चिज विशेषको बौद्धिक खोजी हो । आध्यात्मिक अनुुसन्धानको फेरो समातेर रहस्यहरुको नजिक, अझ नजिक पुग्नु हो । यस मानेमा कवि सदा विचारको यात्रामा हुन्छ । देवेन्द्र खेरेस यतिबेला त्यही यात्रामा छन्, जसलाई उनले ‘कोलम्बस यात्रा’ नामाङ्कन गरेका छन् ।

…मेरो हो–
देशका बाटा र भीर, पहराहरुमा
खसेको छायाँ
देशका खोला, खहरेहरुमा
कुलकुल बगिरहेका आँसु
बाढी, पहिरोमा पुरिएका
रगताम्य पाइला
देशको माटोले
बिर्संदै गएको अनुहार

यो पराइभूमिमा
पसिनाले लेखिएको आलो नाम
मेरो हो
हो, मेरो हो ।

कवि खेरेस विचारका यात्री, प्रेमका यात्री, सपनाका यात्री, सङ्घर्षका यात्री, जो आफूलाई बाटो बनाएर आफैँलाई खोज्दै कहाँसम्म पुगेनन् होला ? आफ्ना अनन्त यात्रामा उनी कतिपटक आफैँसँग बिरानिए होलान् ? कतिपटक आफैँसँग नजिकिए होलान् ? कतिपटक आफैँसँग झुक्किए अथवा तर्सिए होलान् ? कतिपटक आफैँलाई छाम्दै आफ्नै मायामा भक्कानिए होलान् ? सायद उनले आफैँसँग बिरानिँदाको विक्षिप्त समय–किनारमा उभिएर उमारे होलान् मस्तिकमा यति संवेदनायुक्त कविता ?

…खोज्दाखोज्दै नभेटेर
बिथोलिनुभयो भने
आत्मामा हत्केला राखेर
सुस्ताउनुहोस् घुम्तीमा
आफूलाई सम्हाल्न सक्नु हुनेछ
सुख आफैँमा घुम्ती हो
अब तपाईंको प्राप्ति यहीँ कतै छ ।

(घुम्ती)

कविता स्वयम्मा सुन्दर रहस्य हो । यसभित्र छिर्नलाई उत्तिकै सुन्दर चेतना चाहिन्छ । उता, इटालियन क्रिस्टोफर कोलम्बसले सन् १४९२मा गरेका खोजी–यात्रा आफैँमा रहस्मय थियो, यता कवि खेरेसको कविता–यात्रा रहस्मय लाग्छ मलाई । शान्त तलाउजस्तो खेरेसको कवि हृदयमा चुपचाप तरङ्गिएका प्रत्येक कविताको रुप गाउँले बालकको जस्तै निर्दोष र स्निग्ध लाग्छ । जसले मौनतामा बोलिरहेको हुन्छ मानिसहरुसँग । मौनताको भाषा गहिरो हुन्छ । त्यो गहिरोभित्र अझ गहिरा अर्थहरु हुन्छन् । खेरेसका मौन भाषामा बोल्ने कति कविताहरुले आफू नहल्लीकन पाठक हृदयहरुमा हलचल पैदा गर्ने सामथ्र्य राखेका छन् ।

…अब
त्यो समुद्रको
नीलो सौन्दर्य नटिपेसम्म
पटक्कै थाहा हुने छैन
समुद्रको हृदय

(जीवनको फैलावट)

शब्दहरुको नेपथ्यमा छलिएका ‘ध्वनी–सम्मोहन’ले कवितालाई उज्यालो बनाउँछ । गतिशील बनाउँछ र जीवन्त राख्छ ।
कवितालाई विचार बोक्ने कल्पनाको जहाज पनि भन्न सकिन्छ । जसलाई सही दिशा दिँदै सही ठाउँमा अवतरण गराउने खुबी यदि कविसँग भएन भने त्यो डुब्छ । तर, कवि खेरेसले आफ्ना जहाजलाई संयमित तवरले सही अवतरण गराएका छन् । ‘मुन्दुमी सभ्यता’बाट उठेका कवि हुन् देवेन्द्र खेरेस, जसले आफ्नो पहिलो कविता कृति ‘रुङ्रीको बयान र नदी किनारा’मा आफ्नो देशसित आफ्नै परिचय मागेका थिए । आफ्नो देशको माटोमा आफ्नै आत्मसम्मानको रुङ्री (हंश) खोजेका थिए । त्यो खोजीमा मुन्दुमी सौन्दर्य र सुगन्ध थियो । कविलाई देशले उनको परिचय दियो कि दिएन, उनले आफ्नो माटोमा आफ्नै आत्मसम्मानको हंश भेटे या भेटेनन्, सोधेको छैन मैले । तर, उनको त्यो व्यग्र खोजीको सुस्पष्ट तस्वीर मेरो मस्तिस्कमा यतिखेरसम्म उत्तिकै ओजस्वी छ । ‘कोलम्बस यात्रा’ उनको दोस्रो कृति हो । यस कृतिमा चोखो विषयगत विविधता छ । वर्तमान समय, समाज र मनोचिन्तनाको चित्रण छ । हरेक कवितालाई पाठकहरुले आफ्नो बौद्धिक गच्छेनुरुप ग्रहण गर्ने हो । यस अर्थमा कविताले पाठकहरुमा पार्ने प्रभावमा समानता नहुन सक्छ । ‘कोलम्बस यात्रा’ भित्रका कविताहरुमा अर्थ नदिने शब्द या अनावश्यक विम्बहरुको प्रयोग गरेका छैनन् कविले । थोरैमा धेरै भन्नु साथै भन्ने कुराहरुलाई छलेर (कलात्मक ढङ्गले) भन्नुको कर्तव्य निभाएका यी कविताहरु तीनचोटीसम्म दोहो¥याएर आफूले पढेको कवि श्रवण मुकारुङ बताउँछन् । नभन्दै प्राञ्जल भाषा शैलीमा लेखिएका यी गम्भीर कविताहरुको हंश (सातो) स्वयम् कविको अन्त्यपछि पनि बाँचिरहने विश्वास छ मेरो ।

…आज
कोलम्बस अक्सफोर्ड प्रेसका फाइलहरुमा
रमिता हेरिबस्छ
र क्रमबेलको शासन सम्झेर
म इतिहास भुल्न खोजिरहेछु ।

(समय र विपरीत एलियनहरु)

आजको विश्व राजनीति, दृष्टिकोण या चेतनालाई पक्रेर लेखिएका खेरेसका कविताको अन्तर्यचाहिँ जीवनवाद अर्थात् जीवनदर्शन नै हो भन्ने लाग्छ मलाई । अर्को कुरा, राजनीतिभन्दा जीवनवादलाई केन्द्रमा राखेर लेखिएका कविताको आयू निसन्देह लामो हुन्छ । यति हुँदाहुँदै पनि यथार्थतः कविता ऐनामा देखिएको आकृतिजस्तै हो, देखिन्छ तर छाम्दा भेटिँदैन र नभेटिने कुराको मूल्य–मोह यो संसारमा मानिस रहेसम्म रहिरहन्छ ।
हामीकहाँ कुनै कविमाथि बोल्दा या उनका रचनाहरुमा छिर्दा विद्वान्हरुले ‘फलाना देशका फलना कविले यसो भने’ अर्थात् ‘तिलना विद्वान्ले उसो भने’ भन्दै ती विदेशी कवि÷विद्वान्हरुभन्दा एक स्टेपमाथि आफूलाई राखेर सुरु गर्ने रुढ परम्परा जो छ, वाहियात लाग्छ मलाई । किनभने उनीहरुको भनाइसित हाम्रो जीवन, रचना, समाज, समय, राजनीतिक धरातल र मनोवैज्ञानिक सम्बन्ध के सधैँ जोडिरहन्छ त ? नेपाली विद्वान्हरुलाई यो यक्ष प्रश्न राख्दै बरु भन्छु म कि ‘उनीहरुले यसो भने’ भनिएका ठाउँमा हाम्रा ‘यी कविले यस्तो लेखे र यो लेखनले हाम्रो सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा कस्तो अर्थ राख्छ’ भनेर कोड गर्दा हामीलाई कुनै घाटा हुँदैन । किनभने हाम्रा कविहरुले भनेका या लखेका हर कुराहरुको प्रत्यक्ष सम्बन्धचाहिँ हाम्रै मूल्य मान्यताहरुसित जोडिन्छ । यही मूल्य बोकेका कविताहरु यस सङ्ग्रहमा सङ्ग्रहित छन् । जो, यस समयका प्रतिनिधि आवाजहरु हुन् । जसको साक्षी छ कवितासङ्ग्रह ‘कोलम्बस यात्रा’ ।

कवि देवेन्द्र खेरेसलाई हार्दिक बधाई ।

मिलापको पौष अङ्कबाट

LEAVE A REPLY