बुबासँगका मीठा घटनाको अतीत सम्झेर म टोलाइरहन्छु : लैनसिंह वाङ्देलकी छोरी डिना वाङ्देल

0
138

मेरो घरको वातावरण सानैदेखि भिन्न थियो। कालो ढुंगाले छाएको भुइँ। भर्‍याङ वरिपरि चारैतिर भुण्डिएका चित्रहरू, घरनै एउटा ग्लायरीजस्तो। त्यो अर्कै संसार थियो। अर्कै दुनियाँ। बुबाले लेखेका तस्बिरहरू घरका सबै चोटा–कोठामा भुन्डिएका। फेरि घरमा एउटा शून्य वातावरण थियो। काम नपरि कोही पनि बोल्दैनथ्यो। म ती तस्बिर बुझ्दिनथेँ। एउटा तस्बिरमा आँखा टाँस्सिएपछि म अर्कै संसारमा पुग्थेँ। मेरो आँखा, मेरो मन, मेरो ध्यान, मेरो कल्पना। मेरो संसार तिनै तस्विरभित्र रूमल्लिरहेको हुन्थ्यो।

बुबा बिहान उठेदेखि नै चित्र बनाउन कोठाभित्र पस्नुहुन्थ्यो र लामो समय उठ्नुहुँदैनथ्यो। अलिकति पनि हल्ला भयो भने उहाँको ध्यान भङ्ग हुन्थ्यो। त्यसैले हामी खेल्दा पनि, पढ्दा पनि, बोल्दा पनि निकै सुस्तरी बोल्थ्यौं। मलाई सम्झना छ, बुबा एउटै चित्र बनाउन १६ घन्टासम्म एकै थलोमा बस्नुहुन्थ्यो। एकचोटि बुबा एकध्यानमा चित्र बनाइरहनुभएको बेला आमाले बुबालाई चिया लिएर जानुभयो। उहाँको रंगनजिकै चिया पनि राख्नुभयो। बुबाले तेल कलरमा ब्रस चोब्दा चियाको कपमा पुगेछ र उहाँले ममिलाई बिस्तारै भन्नुभयो, ‘किन चिया ल्याएको, अब चिया ल्याएर मलाई डिस्टर्ब नगर।’

सानोमा म सोच्थेँ, ‘सबैको घरमा यस्तै वातावरण हुन्छ होला।’ तर, होइन रहेछ। अरू साथीहरूको घर जाँदा रूखो लाग्थ्यो, कतै चित्र नभएको, कुनै कुनामा किताब नराखिएको। मेरो घर कलात्मक लाग्न थाल्यो। बुबा घरमा बस्दा कि पेन्टिङ गर्नुहुन्थ्यो कि त लेख्न बस्नुहुन्थ्यो। उहाँको लेख पढ्दा पनि एउटा आर्टजस्तै लाग्थ्यो। कलाले भरिएको। उहाँको अर्को ठुलो सोख फूल पनि थियो। कहिलेकाहीँ बिहान उठेर लामो समय बगैंचामा फूलहरूमाझ बस्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘छोरी फूलहरूमाझ बस्दा म एउटा सुगन्ध पाउँछु, मिठो। अनि फूलले मलाई भित्रैदेखि शान्ति प्रदान गर्छ।’
०००

जब–जब म बुबालाई सम्झन्छु, मेरो अघि उहाँको चम्किलो अनुहार देखापर्छ। उहाँलाई एक्लै–एक्लै आकाश धमिलिएको बेला एकदम उदास भएर क्यानभासमा हात सलबलाइहेको देख्छु। उहाँले लामो निश्वास लिएर ‘छोरी’ भन्दै बोलाएको सम्झन्छु। एकान्तमा बसेको बेला म झसङ्ग हुन्छु र बुबालाई सम्झँदै टोलाउँछु।

मलाई सम्झना भइरहेछ, सानी डल्ली म बुबासँगै बसिरहेको हुन्थेँ। उहाँका अघि धेरैखाले रंगहरू हुन्थे र उहाँको हात क्यानभास पोत्नमै व्यस्त हुन्थ्यो। बेला–बेला उहाँ भन्नुहुन्थ्यो, ‘छोरी रंगमा ब्रस चोबिदेउ त।’ म त्यसै गर्थें। उहाँले पेन्टिङ गर्दा म उहाँकै अघि हुनुपथ्र्यो। नभए फेरि बोलाउनुहुन्थ्यो, ‘छोरी कता छौ ?’ उहाँको क्यानभास पोत्ने काम घन्टौंसम्म चल्थ्यो। मलाई त निस्सास लाग्थ्यो। आकाश धुम्मिएको बेला वा प्रकृति उदास भएको बेला बुबालाई पेन्टिङ गर्ने ‘मुड’ बढी नै आउँथ्यो। लामो समय पेन्टिङ गरिसकेपछि उहाँ बिस्तारै मुस्कुराउँनुहुन्थ्यो। म उहाँको क्यानभासमा देख्थेँ, एउटा एब्स्ट्रयाक्ट आर्ट। कहिलेकाहीँ देख्थेँ, साना घाँटी भएका लाम्चा–लाम्चा अनुहार पोट्रेटहरू। त्यसबेला लाग्थ्यो, कलाकारको अनुभूति रंगीन हुन्छन्, नीलो, रातो कालो,। क्यानभासमा छरिएका रंगजस्तै। मैले हेर्दाहेर्दै रित्तो क्यानभासमा एउटा सग्लो आकृतिको चित्र बन्थ्यो। ती चित्र बुबाको सानो आवाजसँगै फनफनी घुमेझैं लाग्थ्यो।

बुबा मलाई बेलाउनुहुन्थ्यो र ‘मसँगै बस छोरी’ भन्नुहुन्थ्यो। सानी फुच्चीलाई एउटा पेन्टरको अघि घन्टौं बस्न दिक्क लाग्थ्यो र फुत्त उठेर बाहिर पुग्थेँ। बुबा मलाई हेर्दै क्यानभासमा केही रेखाहरू कोर्न थाल्नुहुन्थ्यो। केही बेरपछि त्यस क्यानभासमा मेरो स्केच बनेको हुन्थ्यो। उहाँले मेरो स्केच मात्र बनाउनुभयो, पेन्टिङ बनाउनुभएन। किनहोला बुबाले मेरो पेन्टिङ नबनाउनुभएको ? भन्ने सोच्थेँ। एकदिन बुबालाई सोधेँ। उहाँले हाँस्दै भन्नुभयो, ‘तिम्रो पेन्टिङ बनाउन तिमी धैर्य भएर मेरो अघि लामो समय बस्नुपर्छ, तिमीसँग त्यो धैर्यता नै छैन। अनि कसरी बनाउनु मैले ?’ हो त म कहिल्यै पनि धैर्य गरेर उहाँको अघि बस्न सकिनँ।
०००

त्यसबेला म त्यस्तै ३ वर्षकी थिएँ होला। घरमा बाजेको पालादेखिको रेकर्ड प्लेयर (ग्रामोफोन) थियो। त्यो देखेर म खुब उत्सुक थिएँ। एकदिन घरमा कोही नभएको बेला मैले त्यो बिगारिदिएँ। बुबाले आएर कसले बिगार्‍यो ? भनेर सोध्नुभो। म बोलिनँ। उहाँले एउटा लामो कथा सुनाउनुभो। त्यस कथाको सार झुटो बोल्नुको परिणाम राम्रो हुँदैन भन्ने थियो। त्यसपछि मैले सुस्तरी भनेँ–बुबा त्यो मैले बिगारेको। उहाँ बिस्तारै मुस्कुराउनुभयो। केही भन्नुभएन।

हाम्रो घरमा टिभी थिएन। धेरै पछि टिभी ल्याएको। हरेक साँझ घरको आँगनमा मकलमा सानो आगो बालेर हामी (म, ममि) बुबाको कुरा सुन्न भेला हुन्थ्यौं। तातो सुप खाँदै उहाँ कथा सुनाउनुहुन्थ्यो। उहाँका कथामा राजकुमार हुन्थे, एउटा सुन्दर गाउँ हुन्थ्यो र अनेक थरि हुन्थे। म उहाँको कथा सुनेर दंग पर्थें। कहिलेकाहीँ कथा यति लम्बिन्थ्यो कि आधा रात हुन्थ्यो, कथा सिद्धिदैनथ्यो। उहाँ प्रत्येक दिन कथा सुनाउनुहुन्थ्यो र त्यो एउटै कथाको लामो सिरिज हुन्थ्यो। कहिलेकाहीँ त त्यो कथा वर्षौंसम्म पनि सिद्धिदैनथ्यो। म सोच्थेँ, ‘बुबालाई कहाँबाट आउँछ होला यति मिठो कथा?’

बालकृष्ण सम र बुबाको निकै राम्रो दोस्ती थियो। उहाँ बारम्बार हाम्रो घरमा आउनुहुन्थ्यो। बालकृष्ण सम लामो समय बुबाको अघि बस्नुहुन्थ्यो। बुबा एक ध्यानले उहाँको पेन्टिङ बनाउनुहुन्थ्यो। बुबाले बालकृष्ण समको ४ वटा पेन्टिङ बनाउनुभएको छ।

विश्वचर्चित कला फिल्म निर्देशक सत्यजीत रेसँग पनि बुबाको निकै राम्रो दोस्ती थियो। बुबा र सत्यजीत रे एउटै कलेज, एउटै कक्षामा पढ्नुभएको रे। सत्यजीत रे नेपाल आएका बेला हाम्रै घरमा बस्नुहुन्थ्यो। र, बुबा र उहाँबिच लामो समय कला र फिल्मको बारेमा कुरा हुन्थ्यो। म पनि उहाँहरूको छेउमा बसेर ती मिठा गफ सुनिरहेकी हुन्थेँ। त्यसबेला म बुझ्ने भइसकेकी थिएँ। एकपटक सत्यजीत रे कुनै फिल्म सुटिङको लागि नेपाल आउनुभएको थियो। उहाँले मलाई बिस्तारै बोलाएर उहाँको बायोग्राफी दिँदै भन्नुभयो– छोरी तिम्रो बुबा र मेरो सम्बन्ध यही बायोग्राफीमा छ, पढ्नु।’
०००
बुबाले जहिले पनि चित्रकार भ्यानगगको कुरा सुनाउहुन्थ्यो। मैले थाहा पाएदेखि नै भ्यानगगको ठुलो प्रशंसक हुनुहुन्थ्यो। उहाँ फ्रान्समा गएको बेला ‘ओभर–सूर–वाज’को एकान्त खेतमा, जहाँ भिन्सेन्ट भ्यानगगको चिहान छ, त्यहाँ जानुभएको थियो रे। उहाँले एकदिन मसँग लामो समय भ्यानगगको चिहानबारे सुनाउनुभयो।

भ्यानगगको चिहानबारे उहाँले भन्नुभएको थियो– भ्यानगगको चिहान बडो साधारण रहेछ छोरी। त्यहाँ डम्म लहरा पातले छोपेको रहेछ। सिराननेर सेतो पत्थर उभ्याइएको थियो, जसमा लेखिएको थियो–यहिँ भिन्सेन्ट भ्यानगग सुतेका छन्। चिहानमाथि यत्रतत्र फूलैफूल छरिएको थियो। वसन्तको आगमनमा फुलेको फूल टिपी मैले पनि भ्यानगगलाई श्रद्धान्जलि चढाएँ। उहाँले एकठाउँमा लेख्नुभएको छ– भ्यानगगको अन्तिम चित्रमा धानको खेत छ, त्यहाँ बतास चलिरहेको र अन्नबाली लहराएको देखिन्छ, सामुन्नेतिर एक बथान कागहरू उड्दै आइरहेका छन् र पृष्ठभूमिमा कालो–निलो बादल तुफानले एकदम रूमल्लिँदै आइरहेको देखिन्छ। यही उनको अन्तिम चित्रमा सायद उनले आफ्नो दुखान्त जीवनको सूचना दिन खोजेका थिए…।’ किनभने एकान्त खेतमा चित्र बनाइरहेको बेला (२८ जुलाईमा) भ्यानगगले रिवल्वरले आफ्नै पेटमा गोली हाने र मर्ने बेला भाइलाई अँगालो हालेर भने, ‘ओह, मर्नु निकै कठिन रहेछ…तर मर्नुभन्दा बाँच्नु पो मेरो निम्ति कठिन भयो…आह, सारा जीवन यस्तै उदासिन कामहरूले बित्यो…।’ म ८ कक्षा पढ्दा बुबाले मलाई भ्यानगगको जीवनी ‘लस्ट फर लाइफ’ पढ्न दिनुभयो। एकपटक उहाँले आमालाई लेखेको चिठीमा भनिएको थियो–‘भ्यानगगले पेन्टिङ बेचेनन् र सुसाइड गरे। तर, हेर म सुसाइड गर्दिनँ।’
०००

लैनसिंह वाङ्देलकी छोरी डिना वाङ्देल

लैनसिंह वाङ्देलकी छोरी डिना वाङ्देल

उहाँका धेरै चिठीहरू, जुन उहाँले विदेशी भूमिमा हुँदा आमालाई पठाउनुभएको थियो, ती मसँग सुरक्षित छन्। एउटा चिठीमा बुबा युरोप छँदै राणाशाहीमा सुधारक भनेर चिनिने केशरशमशेरले ५ हजार रूपैंया सहयोग पठाएको र त्यो पैसा फिर्ता गर्नुनपर्ने विशेष सर्तसमेत राखेकामे रमाइलो प्रसंग छ। केशरशमशेरले बुबालाई पठाएको चिठीमा लेखिएको छ–त्यो पैसा फिर्ता गर्नुपर्दैन। त्यसो साटो मेरो राम्रो चित्र कोरिपठाऊ।’ यी मिठा सम्झना बुबाको नयाँ पुस्तक ‘मुलुकबाहिर म’मा उल्लेख छन्।

बुबा (लैनसिंह वाङ्देल) उमेरमा तीस पनि नलागी कलाको उच्च शिक्षा लिन सन् १९५२ मा भारतको कोलकाताबाट तीन महिनासम्म लगातारको जहाज यात्रा गर्दै युरोपभूमि पुग्नुभएको थियो। मलाई बेलाबेला त्यो सम्झना पनि सुनाउनुहुन्थ्यो। युरोप पढेर सन् १९६१ मा दार्जिलिङ हुँदै नेपाल आएपछि पनि लामो समय फर्पिङको स्कुलमा पढाउने धरणीधर कोइरालालाई नभेटेपछि उनले बुबालाई एउटा पत्र पठाएछन्। पत्रमा लेखिएको छ–‘कान्छा अब नजिकको देउतालाई हेलाँ?’

बुबाको डायरी लेख्ने बानी थियो। प्रत्येक दिनका महत्वपूर्ण घटना कलात्मक ढंगमा उहाँ डायरीमा लेख्नुहुन्थयो। उहाँका धेरै डायरी अहिलेपनि मसँग सुरक्षित छन्। बुबाले गुरूप्रसाद मैनालीलाई जीवनभर भेट्न पाउनुभएन तर, उहाँहरूबीच आदानप्रदान भएका चिठीहरू मसँग सुरक्षित छन्। त्यसबेला बुबा दार्जिलिङमा हुनुहुन्थ्यो। बुबाले सुनाउनुभएको। उहाँहरूबीच खुब चिठी आदानप्रदान हुँदोरहेछ। चिठीमा उहाँहरू मिठा–मिठा कुराकानी गर्दारहेछन्। बुबालाई पठाइएको एउटा चिठिमा गुरूप्रसाद मैनालीले लेख्नुभएको छ–तपाईको र मेरो भेट भएको छैन। तपाईलाई नभेटेपनि मलाई तपाईको धेरै माया लाग्छ।’

म नेपालमा आइए पास गरेपछि अमेरिका पढ्न गएँ। त्यसपछि मेरो अधिकांस समय उतै बित्यो। बुबा र म धेरै विदेशी भूमिमा सँगै घुम्न गएका छौं। हामी अमेरिका, युरोपमा धेरै देशहरू सँगै घुम्यौं। उहाँलाई फ्रेन्च र अमेरिकन वाइन कलेक्ट गर्ने सोख थियो। ५० वर्ष पुरानो वाइन पनि उहाँले कलेक्ट गर्नुभएको थियो। सन् २००२ मा बुबा बितेपछि उहाँका डायरी, किताब, पेन्टिङ र चिठीहरूप्रति मेरो अगाध माया बसेको छ। जब ती चिठि, किताब मेरो हातमा आइपुग्छन्, ती अक्षरहरू धमिलिएर अतीतका बुबासँगका मिठा घटनाहरूसँग मिसिन्छन्। म निकैबेर अतीत सम्झेर टोलाउँछु। मेरो अघि बुबा बसिरहेको र क्यानभासमा पेन्टिङ गरिरहेको देख्छु।

(कला लेखक डा. डिना वाङ्देलको यसै साता निधन भएको छ। उनी अमेरिकाको भर्जिनिया विश्वविद्यालयमा कला प्राध्यापन गर्थिन्। उनका ‘द सर्कल अफ ब्लेस’, ‘पिल्ग्रीमेज अफ फेथ’जस्ता कला, दर्शन र धर्मबारेका पुस्तक चर्चित छन्। अमेरिकाबाट नेपाल आएको बखत ७ वर्षअघि उनले नयाँ पत्रिकाका लागि पत्रकार दीपक सापकोटासँग लामो वार्ता गरेकी थिइन्। उनका पिता तथा प्रसिद्ध कलाकार एवं लेखक लैनसिंह वाङ्देलको ‘मुलुकबाहिर म’ पुस्तक प्रकाशनकै सेरोफेरोमा भएको उक्त लामो वार्ताको यो सम्पादित अंश हो।)

प्रकाशित १३ साउन २०७४, शुक्रबार | 2017-07-28 14:23:18

LEAVE A REPLY